आभास
Civil Engineer by Profession | Pursuing Master's Degree in Transportation Engineering | Assistant Lecturer at Universal Engineering and Science College | Columnist at sallerikhabar.com | Co-founder - nepaliwriters.com |

समर्पण

आज भन्दा छ वर्ष अगाडी मेरा गाला उजाड थिए | हरियाली त केवल वातावरणमा मात्रै देखिन्थ्यो | अचेल वातावरणभन्दा मेरा गालामा हरियाली वृद्धि भएको छ | आइ.एस्.सी दिएर काठमाडौँ लम्कदा मसंग के थियो के थिएन, अहँ केही सम्झन्न, सम्झन्छु त केवल मनका बहहरू, मुटु बाट पम्प भएर बग्ने रगतसँगै बगेका सपनाहरू | सफल भएर आफ्नो दाह्री मुसार्ने चाहना मेरो पनि थियो | सफल हुनु यसर्थमा हैन कि, पछी सरकारी मोटर चढेर गेटमा बस्ने हर्के दाइको स्यालुट थापुं, सबैले हाइ हाइ गरुन्, कसैलाई गाह्रो पर्दा मैकहाँ हात फैलाउन आउन् अनि ऋण दिएर चर्को ब्याज असुल गरूँ | सफल हुनु भनेको मेरो लागि स्वतन्त्र हुनु थियो, स्वावलम्बी हुनु थियो, आफ्नो खुट्टामा उभिएर काधमा रहेका अनेकौ अभिभाराहरुलाई जोगाइरहनु थियो जबसम्म ति पूरा हुदैन थिए |

उपत्यका चाहार्दा चाहर्दै बल्ल तल्ल जागिर हात परेको थियो, कम्प्युटर मास्टरको जागिर, भक्तपुरको एउटा स्कुलमा | मास्टर भन्ने बित्तिकै नाक खुम्चाएर मुख बंगाउने धेरै हुन्छन्, मलाई चै आफुले जानेको कुरा अरुलाई सिकाउन गजब रमाइलो लाग्छ | स्कुलको पहिलो दिन, विद्यार्थीलाइ मात्रै हैन मास्टरलाइ नि गाह्रो लाग्दो रैछ | मास्टर भैसकेको थिएँ तर उमेर तेही स्कुलमा पढ्ने दुइ चार जना दश कक्षाका बिद्यार्थी संग मिल्थ्यो होला | दाह्री पनि त पलाइसकेका थिएनन् | खैर जे होस्, पहिलो दिन नै सोहि स्कुलमा पढाउने सुष्माले लट्ठ पारिन् | उनि सानो कक्षाका लाइ पढाउथिन् | एसेम्बलीको बेला अरु रास्ट्रगान गाउथे, म मनमनै सुष्मागान गाउथें | हावा चल्दा आँखा छेक्न पुगी हाल्ने उनको कपाल अनि सरक्क कति मजाले कपाल पछाडी लगेर कानमा अड्काउने उनका कोमल हात, आहा ! मनमा कताकता काउकुती लागिरह्यो तर सुष्माबाट आँखा अन्त कतै मोडीएनन् | पागल आँखा कि म ?

समय बित्दै गए | मेरा दुइ नजर सुष्माको सौन्दर्यमै गएर अडिन्थे | दिन फेरिएपनि न अरुले गाउने राष्ट्रगान फेरिएको थियो न मैले गाउने सुष्मागान | सात चोटी तलब थापिसक्दा पनि मेरो नजर सुष्माको नजरसंग कहिले जुदेनन् | जुदोस् पनि कसरि उनको भुइतल्लामै दिन बित्थ्यो, आफ्नो दोश्रो र तेश्रो तल्ला गर्दै ठिक्क | क्यान्टिनमा खाजा खान पनि साथिभाइसंगै जाने गर्थे | नजुरेको हो या जुराउन नखोजेको हो त्यो मैले आफैले ठम्याउन सकिन | नजुर्नुमा कुनै दोष थिएन जुराउन नसक्नुको दोषी मेरो लजालु स्वभाब नै हुन पर्छ |

हिजोभन्दा आज, आज भन्दा भोली झन् राम्री हुने प्रयत्न गरिरहेकी थिइ जस्तो लाग्यो सुष्माले | कहिले काही त लाग्यो जिस्काइदिउ, कतै ‘म त के राम्री छु र हौ मायाको हेराइ हो राम्रो’ भनि पो हाल्छे ! मनमा सुष्मालाइ नजिस्काएको दिन थिएन, अपसोच बोलि कहिले फुटेन, सुष्माले कहिले सुनिन |

त्यो दिन सुष्माले समेत सम्झाई मलाई | मलाई निकै रमाइलो लागेको दिन थियो त्यो | स्कुलको फाउण्डरको भान्जालाइ भट्टी पसलमा देखेर दुइ थप्पड लगाएको थिएँ मैले | उमेर मेरो नि उसको जस्तै हुदो हो | तर शिक्षक भएर बसेपछि, बिद्यार्थी प्रति आफ्नो दायित्व नि हुदो रहेछ | खाए खावोस् भनेर उसको भबिस्य माथि खेलबाड गर्न मनले मानेन | मैले उसको भबिस्यप्रति खेलबाड गर्न चाहिन | जबाफमा उसका मामाले मेरो वर्तमानसंगै खेलबाड गरिदिए | म अब त्यस स्कुलको मास्टर रहिन | जागिर मैले नै छोडेको हु | तर सम्पूर्ण मेम्बरहरुको सामुन्ने उभ्याएर मलाई लगाएको अक्षेपले नै स्कुल छोड्न बाध्य भएको थिएँ | रन्थनिएको दिमाग फोनमा सुष्माको बोलि सुनेपछि सेलायो, केहि हदसम्म | यो घटनाले दिएको पहिलो उपहार भनेकै सुष्माको नम्बर थियो |😉 सुष्मा लगायत अन्य स्टाफ लगायत बिद्यार्थीको अनुरोधमा फेरी सोहि स्कुल जोइन गरें, पहिले भन्दा धेरै तलब लिएर | तलबवृद्धि मेरो दोश्रो उपलब्धि थियो | सुष्माको नम्बर पाएपश्चात् बिहान उठ्ने बित्तिकै “गुड मर्निंग मिस” भनेर मेसेज सेन्ड गर्ने बानि बसेको थियो | भबिस्यमा त्यो ‘मिस’ ‘मिसेस’मा बदल्ने अभिलाषा पनि सानो थिएन | पहिला भन्दा हामी धेरै नजिकियौ | सायद सुष्माले पनि मलाई माया गर्न थालिसकेकी थिई | तिजको दिन थियो | म बिरामी परेर कोठामा नै बसेको थिएँ | तिज नभएको भए सायद स्कुल जान्थे होला, सुष्मालाइ भेट्न भएपनि | सुष्मा कलिंग देखेपछी गलेको जिउमा एकदम ताकत आएजस्तो भयो | हत्तनपत्त फोन उठाएर भने – भन सुष्मा के छ ? के छ भनेर त मैले सोध्न पर्ने, आज स्कुल आइएनछ त किन हो ? सुष्माले प्रश्न घुलेको जवाफ फर्काइ | सन्चै छु अलि टाउको दुखेर नआएको भनेर कुरो टुंगाए र फोन राखें | तिजको दिनमा सुष्मा किन स्कुल आइ ? कतै उसलाई पन मसंग भेट्ने इच्छा त थिएन ? भन्न पर्थ्यो नि कमसेकम म जसरि भए पनि पुगीहाल्थे नि ! म पनि कस्तो जाबो टाउको दुख्दैमा स्कुल नगैरा ! पालैपिछे सुष्मा र आफैलाई फलाकिरहें | हामीले एकअर्कालाई माया गर्न थालिसकेका थियौ |

आइ.एस्.सीको रिजल्ट आयो | मेरो सिम्बल नम्बर अलि लामो भएजस्तो छ, लिस्टमा अटाएनछन् | फोन गरेर कुरा घरमा सुनाएँ | घरबाट सकारात्मक कुरा आयो – यतै आइज अनि फेरी पढाइ दोह्र्याउनु आमाले नम्र स्वरमा केहि नबिग्रेको भाब झल्काउदै भन्नु भयो | पढाइ भन्दा मलाई सुष्मा प्यारो लाग्न थालिसकेको थियो | सुष्मालाई छोडेर सरस्वति अंगाल्न मनले पटक्कै मानेन | आफन्तले गिज्याउछन्, समाजले नराम्रो नजरले हेर्छ भन्ने बहाना बनाएर घर नआउने कुरा आमालाई सुनाएँ | आमाले मान्नुभएन | सुष्मालाई सबै कुरा बताएँ | हामीलाई संगै बनाउन सक्ने कुरा भनेकै तिम्रो पढाइ पनि हो | तिमी घर फर्क, पढेर आउ, म तिमीलाई कुरिरहन्छु भनेर उसले बताएपछि मात्र मैले घर फर्कने टिकट काट्न सकेको थिएँ | घर फर्कनु भन्दा अगाडी उसले घर बोलाएकि थिई कम्प्युटर बनाउने बहानामा | सोहि बेला हातमा हात राखेर भनेकी थिई | म सधै तिम्रो हो सुमित, तिमी पढाइ सकेर फर्क, म तिमीलाई नै कुरिरह्न्छु |

आइ.एस्.सी लाइ मात दिने हिसाबले अब मैले प्लस टु जोइन गरें | सुष्मालाइ बिर्सेर पढाइमा ध्यान दिन सकिरहेको थिइन | बेला बेला सम्पर्क गरिरहन्छु भनेपनि कल बटन दबाउने आट अक्कलझुक्कल मात्रै मिल्थ्यो | ऊ भने सधै जसो सम्झिरहंथी | म सबै बिर्सेर अगाडी बढ सुष्मा भनेर सम्झाइरहन्थे | ऊ मलाई नै कुरिरहेको कुरा बताउथी | आँखा रसाएर आँसु गाला भिजाउदै खस्थे भुइतिर, कतिलाई गालामै सिध्याएं, कति झर्न समेत पाएनन् – सायद झार्न नसकेको आँसु सुष्मा बनेर बसिरह्यो | सधैझैँ एकरात सुष्माको फोन आयो | बुवाले अन्तै बिहे गरिदिने कुरा बताई | मुटु कामेर लड़ुलाझैँ भयो | सुष्मा पाउने आशले पढाइ फेरी सुरु गरेको थिएँ, पढाइले गर्दा सुष्मा गुमाउनु परेको मलाई असह्य भयो | पैला झार्न नसकेका आँसु बरर गाला भिजाउदै रसायनशास्त्रको कापीमा खसे, अक्षर ठुला ठुला भए | ठुला ठुला अक्षरले मेरा बढ्दै गरेको दुख झल्काएझैँ लाग्यो | लेखिएका अक्षरको अस्तित्व आँसुले बगायो, त्यहि आँसु जसले सुष्मालाई समेत मेरो जिन्दगीबाट बगाउदै थियो, सधैको लागि | यस्तै हो सुष्मा, सोचे जस्तो सधै हुदैन नि | उतारचढाब कै पर्याय त हो जिन्दगी भनेर निकै सम्झाएँ | तिमी बिना म अपुरो हुनेछु सुमित बाहेक केहि भन्न सकिन उसले | आफ्ना बारेमा अनेकथरि भएको नभएको खराब कुराहरु बताउदै उसलाई मबाट टाढिन आग्रह गरें | उसको खुसि नै मेरो खुसि थियो | बन्न लागेको उसको घरबार बिगारेर म कहिले खुसि हुन सक्दिन थिएँ | यदि उसको हुनेबाला श्रीमानले उसलाई खुसि राख्ने बाचा गरेको छ भने मैले सुष्मा मेरी नै हुनपर्छ भनेर कराउनु कुनै जायज कुरा हो जस्तो लागेन | मेरो चाह नै सुष्माको खुसि हो | सुष्मा खुसि भए म खुसि हुनसक्थे | सायद साचो माया गरेकोले होला !

सुष्माले बैबाहिक जीवनमा प्रवेश गरेपछि मैले सम्पर्क गर्न चाहिन | घरबार बिग्रेला भन्ने डरले आट पनि आएन | ऊ भने बेलाबेला फेसबुकमा बोल्न आइरहन्थी | उसकी छोरी ठुली भैसकेकी छे | मैले प्लस टु पास गरेर इन्जिनियरिंग सकाइ सकेको छु | आफुले हुनखोजे अनुसारको सफल भए जस्तो लाग्छ | आफ्नो छुटै कम्पनि छ, आफ्नो खुट्टामा उभिन सकेको छु | सुष्मालाइ त यो जुनीमा पाउन सकिन | तर काठमाडौँ आउने बेलाको लक्ष्य सुष्मा हैन सफलता थिइन् | सायद त्यो आफुले हात पारे जस्तो लाग्छ | सफलता सम्म पुर्याउने आट, साहस, भरोसा भन्नु फेरी सुष्मा नै हुन् | ऊ बिना सफलता संग भेट सायद हुदैन थियो होला मेरो | अबको चाह भन्नु नै सुष्माको खुसि हो | उसको खुसिमा नै म खुसि हुन सक्छु, थाहाछैन उसको दुखमा मेरा आँखा रसाउछन् रसाउन्नन्, मन चै अबश्य दुख्नेछ | सुष्मा संग छुटिएको छ सात बर्ष भैसकेको छ | छ सात बर्षमा धेरै सफलता पनि हात पारियो | मनले भने सुष्मा र सफलतालाइ संगै पाउन पाएको भए निकै रमाइलो हुन्थ्यो भन्ने मात्रै कल्पिरहन्छ | बिदा भैसकेकी सुष्मालाइ सम्झिएर एकोहोरिनु भन्दापनि फेरी फेरी आइराख्न सक्ने सफलताको लागि एकोहोरिन थालेको छु |

Abhash Acharya

सिभिल इन्जिनियर | MSc. (Transportation Engineering) अध्ययनरत । लेख्न लायक बायो बनाउनै बाकीं छ । पुन: चियाउने कष्ट गर्नुहोला ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *