आभास
Civil Engineer by Profession | Pursuing Master's Degree in Transportation Engineering | Assistant Lecturer at Universal Engineering and Science College | Columnist at sallerikhabar.com | Co-founder - nepaliwriters.com |

मेरो पुल्चोक मेरो गन्तब्य

‘भाग्यमानी ति हुन् जो पुल्चोकमा पढ्छन्’ म कक्षा दशमा पढ्दा एउटा निजी कलेजमा इन्जिनियरिंग पढ्दै गरेका छिमेकी दाइले भन्नुहुन्थ्यो, तर त्यो बेला मेरालागि ‘भाग्यमानी ती थिए जो ‘सेन्ट जेभियर्स’ पढ्थे !’ | एकमनले सधै सोच्यो यो ‘सेन्ट जेभियर्स’लाइ पनि मात दिने गरि पुल्चोक कताबाट उब्जियो फेरी ! पुल्चोकका बारेमा यति अनभिज्ञ हुदा हुदै पनि आज यहि पुल्चोक इन्जिनियरिंग क्याम्पसमा पढ्न पाउँदा निकै हर्षित छु |

……………….

‘२०७० साल मेरा लागि निकै सहयोगी भएर उत्रिदै छ नि !’, पुल्चोकमा नाम निस्किएपछी काठमाडौँ विश्वबिद्यालयको क्यान्टिनमा खादै गरेको नास्ता छोडेर हिड्ने बेलामा छेउको साथीलाई भनें | साथीले ‘मलाई नि त्यस्तै भइरहेको छ नि त’ भनेर मेरो वाक्यको भार केहि हलुका बनाइदियो | अनि फोन लगाइयो घरमा :

‘छोरोको नाम निस्कियो नि त !’ मैले आमालाई सुनाएँ |

‘ए हो ! ल बधाई छ, अनि अरु कसको कसको निस्किएछ त ?’ आमाले प्रश्न घुलेको जवाफ फर्काउनु भयो |

‘म अनि अरु थुप्रै छन् | सबै त म नै चिन्दिन तपाईले कसरी चिन्नु होला र !’

जवाफ सुनेर आमा फोनमै हास्नुभयो |

‘दुइ सयको रिचार्ज कार्डको नम्बर पठाइदिनु न, अब सबैलाई भन्नु पर्यो नि |’ मलाई त्यसरी पैसो माग्न पनि झन् सजिलो बनाइदिएको थियो पुल्चोकले |

‘ए हुन्छ ल, राम्ररी पढ |’

रिचार्ज गरेपछि ‘भाग्यमानी’को बेग्लै परिभाषा दिने दाइलाई फोन गरें | कुरो सुनेर उहाँ पनि खुशी हुनु भयो | ‘ल बधाई छ, यहि स्पिरिट  कायम गर, सजिलो हुन्छ इन्जिनियरिंग नि | मलाई थाहा थियो तिमीले गर्छौ भन्ने’ वाक्य सहित उहाँले कुरो टुंग्याउनु भयो | आफुले निकै ठुलो काम सफल पारेकाले, मैले नगर्न सक्ने काम कमै छ भन्ने दम्भ भइरहेको थियो | अनि बिस्तारै अरु साथिहरुलाई फोन गरेर आफ्नो प्राइभेट अनुभव सुनाएँ | म लगायत अन्य साथीहरुको पनि नाम निस्किएकाले हामी ‘काठमाडौँ विश्वबिद्यालय’को प्रांगणमा बसेरै भए पनि ‘त्रिभुवन विश्वबिद्यालय’ को कुरा गरिरहेका थियौं, ठुला ठुला स्वरमा, ‘नजिकको तिर्थ हेला’ भन्ने उखानलाइ अझ सार्थक बनाउदै !

२०७० असोज ५, अफिसिअल इन्जिनियरिंग संस्थानको अफिसिअल मेम्बर भइयो, काइदा साथ १० बजेर ४५ मिनेटमा भर्ना गरेर | भर्ना गर्न आउदा हतारिएका पाइला अब भने केहि सुस्त चलिरहे, सायद बर्षौका रहर पूरा भएकाले होला | अर्को कुरो, नेपालमा कोहि एउटाको सपना संग थुप्रैको आशा जोडिएको हुन्छ | आफ्नो सपना संगै अरु थुप्रैको आश पुगेकाले नि मलाई त्यो ठाउँ त्यति सजिलै छोड्न मन थिएन, जब यहि संगै मिलेर छिचोल्न अझै बाटाहरु बाँकि नै थिए |

२०७० माघ ९, एक नयाँ ढंगले घरबाट निस्किएँ, आफ्नो गन्तब्य तिर- पुल्चोक इन्जिनियरिंग क्याम्पस | आज तेज बढी थियो ममा, सुर्यको प्रकाश तेजस्वी थियो, हावाको बहाब जादुमय थियो, लाग्थ्यो कुनै इन्द्रजालमा बुनीएर सम्मोहित गराई रहेथ्यो यो दिनले आज | म बामे सर्दै थिएँ आफ्नो गन्तब्य तिर जुन गन्तब्य सपना थियो मेरो | गौशाला चोकमा पशुपतिनाथको दर्शन गरें गाडीबाटै | त्यो दिन पहिलो पल्ट बागमती गनाएन | सायद म भबिस्यको बास्नामा भिजिसकेको थिएँ | त्यस पश्चात् बबरमहलमा उत्रिएर माइतीघर-थापाथली-कुपन्डोल हुदै पुल्चोक पुगेरै आफ्नो थकित ज्यान बिसाएं सी.आइ.टि.को भवन अगाडी | म जस्ता अरु थुप्रै टिलपिल सपनाले भरिपुर्ण आँखा हाजिर भएका रहेछन्, काँधमा ब्याग सहित अभिभारा बोकेर | ‘पुल्चोकमा सान छ मान छ त्यसैले त यसले हामी जस्तालाई तान्छ ’ कोहि गफ दिदै थिए | मलाई नि त्यस्तै लाग्थ्यो | कसैले कहाँ पढ्छौ भनेर सोध्दा, हतारमै ‘इन्जिनियरिंग’ भनेर सोही मान्छेबाट कहाँ भन्ने प्रश्नको अपेक्षा गर्न मन लाग्थ्यो, ‘पुल्चोकमा हो’ भनेर फर्काउन पाउँछु भनेर | म जस्तै घरतिर बाबाआमाले पनि फुटानी लाउनु भएकै होला, भाइले पनि स्कुलतिर हल्ला गरेकै होला ! जे होस् प्राय नेपालीको गन्तब्य हो जस्तो लाग्छ पुल्चोक | अनेकौ राजनीतिक अस्थिरता बिपरित यो गरिमामय स्थानमा एउटा सरकारी क्याम्पस पुगेको मा सुरु सुरुमा अचम्म भने लागेको थियो | पहिले नाम चलेका केहि सरकारी क्यामपसले नै सरकारी शैक्षिक संस्थाको चरित्रमा आँच पुर्याएका हुन् कि जस्तो लाग्यो | अनि यस क्याम्पसलाइ उच्चकोटी दर्जामा राखे मनभित्र | इन्जिनियरिंग कलेज भए पनि भवन चै सोचे जस्तो आकर्षक लागेनन्, जग्गा भने बिशाल, अहिले सम्म घुमिसकेको छैन मैले |

हुन त संसारमा पुल्चोक क्याम्पसभन्दा नामी र दामी क्याम्पसको कमी छैन | त्यसैले पनि धेरै बिद्यार्थीहरु शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर र परराष्ट्र मन्त्रालयबाट पासपोर्ट लिएर बिदेश गएका छन् | तर नेपाली माटोमा उब्जेको राम्रो क्याम्पस भने यहि हो | सामान्य नेपालीको आर्थिक अबस्थाले पनि यो क्याम्पस पढ्न सकिन्छ | आफ्नो गाउ, आफन्त र परिवेशबाट टाढा नपुगी ज्ञानको अवसर दिने क्याम्पस  हो यो | आफ्नो माटोको सुबास र विश्वस्तरको ज्ञानको मजा एकैचोटी यही पाइन्छ |

सुरु सुरुका दिन रमाइलोसंग बिते, बिद्यार्थी संगठनको स्वागत कार्यक्रम, चियापान, नयाँ नयाँ साथीहरुसंग चिना परिचय, हाँसो ठट्टा, यहाँसम्म आइपुग्न छिचोलेको अनुभव साटासाट आदि इत्यादी | एउटा रमाइलो पक्ष चै के लाग्यो भने कसैले नि म पढ्छु भनेर भन्दो रहेनछ यहाँ | बेला बेला सोच्न बाध्य भैरहन्थे ‘यो इन्जिनियरिंग भनेको भूमिगत भएर भूमिगत रुपमै पढ्ने बिषय त हैन ?’ ‘गाह्रो रैछ त दादा इन्जिनियरिंग |’ भनेर सोध्दा सबैले ‘ह्या मुला परिक्षा आउने बेलामा पढ न सकिहालिन्छ नि भन्नु भयो |’ त्यो केवल भन्ने कुरा थिए मैले बुझिसकेको थिएँ | र पनि मुसुक्क हासेर ‘ए हुन्छ!’ भन्नु मेरो कर्तब्य हुन्थ्यो र त्यसै गर्थे | धेरै तरिका बाट धेरै जनाको बेग्लै परिभाषा सुन्न पाइन्छ पुल्चोकबारे | खेलाडीले ‘खेल्नलाइ लास्ट सहि ठाउँ हो चौरी नि बिशाल लास्ट मज्जा आउने के !’ भन्लान् | अर्को एक समुहले ‘नेट चै लास्ट सहि यार, हेर्न क्या छिटो हुने के डाउनलोड’ पनि भन्लान् | फेसबुक टुइटरतिर भेटिने पासआउट सिनियर ले ‘लामखुट्टेको चै उचित बासस्थान हो’ पनि भन्नुहुन्छ | सुरुका दिन तिरै समकक्षी मित्रहरुले त ‘अलि अलि बचेकुचेका सद्येलाइ बिगार्ने थलो हो’ पनि भने | यस्तै सबैको पुल्चोक हेर्ने नजर फरक छ, नेपाली नेताका दृष्टि जस्ता | नहोस् पनि किन ‘जोडी अंगाल्ने देखि किताब संगाल्ने’ सम्म को जमात यहि त छ | कुशल इन्जिनियर बन्ने भनेर यता छिरेका युवा एक बोक्रे नेता-नेत्री बनेर निस्किन्छन् कि भन्ने डर भने चै सधै रहने रहेछ | प्रलोभन र अवसर छुट्याउन नसकेर राजनीतिक अस्थिरता, बन्द हड्ताल, तालाबन्दी यस्तै यस्तै संक्रमणमा परेका दाजुभाइ दिदीबहिनी पनि देखेको छु | सधै कापी कलम बोकेर लाइब्रेरीमा कुद्ने पनि छन् | जे होस् पृथ्बीनारायण शाहले ‘चार जात छत्तिस वर्णको साझा फुलवारी’ त्यसै भनेका रहेनछन् यता कता सधै आभास भैरहन्छ |

बर्षौ देखि अनेकौ जालझेल बाधा अबरोध छिचोल्दै यो स्थान सम्म पुल्चोक आफै पुगेको भने होइन | यसका लागि यस संस्थानसंग आबद्ध रहेर आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु भएका र गरिरहनु भएका त्रिभुवन विश्वबिद्यालका पदाधिकारी, प्राध्यापक, गुरुबर्ग, नेपाल सरकार, विद्यार्थी संगठनको देन र त्याग सराहनीय छ | अहिलेको यो घडीमा यसको उत्थान मात्रै नभएर यसको गुणस्तरको संरक्षण गर्नु नै ठुलो चुनौतीको रुपमा देखा परेको छ | राजनीतिक हस्तछेप, तानातान र कुर्सिको मोहले ‘इन्जिनियरिंग अध्ययन संस्थान’ खोक्रो हुन लागेको छ भन्ने हल्ला हिजो आज अलि बढी सुन्न थालिएको छ | सबल र अब्बल जनसक्तिको निर्माण थलो भनेर कहलिएको संस्थालाइ सोहि संस्थानका सिनियरले नै ‘खोक्रो’को पगरी बेरिदिएको अलि सोभायमान नभए जस्तो लाग्यो | उहाँले भनेको कुरो ठिक हुन पनि सक्छ, राजनीतिको बारेमा मैले त्यति जानेको नभएकाले अरु सोच्न उपयुक्त ठानिन |

छ महिनाको पुल्चोक अनुभबले जिउने तरिका अलि सहज बनाइदिएको भने अबश्य छ | हरेकले जीवनमा केहि गर्नुपर्छ, गर्नका लागी लागिरहनु पर्छ, हो यो सत्य हो तर यो कुरा पनि ख्याल गर्नु पर्छ कि सुरुवात देखि लक्ष्यसम्म अरु नि केहि छ जसमा रमाउन सक्नु पर्छ, त्यसलाई जिउन सिक्नु पर्छ- जीवन | हरकोही इन्जिनियरिंग विद्यार्थीको अनुहारमा जीवन उत्सबको भाब नभए नि प्राय जीवन जिउनु पर्छ रमाउनु पर्छ भन्ने कुराले नै प्रेरित भएको भान हुन्छ | जीवन जिउन रमाउन धेरै हद सम्म सिकाउने पुल्चोकलाइ धन्यबाद ! किताबी ज्ञान भन्दा अलि टाढा रहेर मानब जीवनका विभिन्न पाटा पहिल्याउन केहि हद सम्म सहयोग गरेकै छ पुल्चोकले | किताबी ज्ञान मात्रै नभएर सार्थक जीवनका रहस्यबारे केहि समय छुट्याएर भए पनि खुराक पस्कने सिनियर गुरुबर्ग प्रति पनि आभारी छु |

हिजो आज आफु भन्दा एक बर्ष जुनियर भाइ बहिनीले सोध्छन् :

“दादा पुल्चोकमा नाम निकाल्नु भयो है ? खतरा हो के तपाई !”

“खै निस्किएछ ! पढ न निस्किहाल्छ नि !” म उनीहरुको आत्मविश्वास बढ्ने गरि उत्तर फर्काउछु |

“कुन कुन किताब पढ्ने नि दादा ?”

“तेही एघार बाह्रको राम्ररी पढेको छौ भने नि हुने हो, नत्र म भनुला नि त अलि अलि त |”

यहि गफ गाफ बीच आफ्नो बिगत सम्झन्छु , ठ्याक्कै उस्तै लाग्छन्, प्रश्नको प्रकार, जवाफ अनि पुल्चोक प्रतिको मोह | नलागोस् नि किन ? आखिर सबैले नपढे नि, क्याम्पस नै नदेखे पनि रुचाएको क्याम्पस हो, मुलुकको, आफ्नै बेग्लै ट्रेडमार्क छ – पुल्चोक | बास्तबमा पुल्चोक क्यम्पसको मात्रै एउटा छुट्टै ट्रेडमार्क छैन, बिद्यार्थीको नि बेग्लै पहिचान छ | छरछिमेकमा सोध्छन् :

“कुन कलेज हो बाबु ?”

“पुल्चोक हो”

“ए राम्रो गरेछौ त, राम्रो छ नि त कलेज त !”

“अ ठिकै छ !”

ठिकै भन्ने जवाफ सुनेर धेरै आश्चर्यचकित होलान् | यसर्थ उहाँहरुले ‘निकै राम्रो छ’ भन्ने जवाफ अपेक्षा गर्नुभएको हुन सक्छ | तर जे होस् आफुलाई लागेको कुरा ब्यक्त गरेको हो मैले | हरेक कुरा त्यो भन्दा केहि हदसम्म अझै सुधार गर्न सकिन्छ जस्तो लागेर नि म राम्रो छ भनेर भन्दिन | सोही अनुरुप यस क्याम्पसमा नि धेरै सुधार गर्नु पर्ने कुराहरु पाएको छु | भौतिक पूर्वाधारको विकाससंगै विभिन्न प्रयोगशालाका लागि चाहिने बस्तुहरु बिद्यार्थीको माग अनुसार हुनु आवश्यक छ | पुस्तकालय, सबै भन्दा चित्त नबुझेको एउटा पाटो | पुस्तकालय प्रवेश अगाडी एउटा सूची तयार गरेर गयो, फलानोको तिलानो किताब लिन्छु भन्ने आशमा, खोज्यो भेटिदैन, दोहोर्याएर खोज्यो भेटिदैन | आफुलाई असक्षम ठानेर कम्प्युटरबाट खोज्यो, भन्छ, फलानो रोमा तिलानो नम्बरको किताब | फेरी खोज्यो देखाइएको ठाउँमा- मरे भेटिदैन | आफुलाई मन लागेको किताब नै नभेटीएपछी त कसले के खोजोस् र पढ्नलाइ ! पुस्तकालय भित्र जादा हसिलो मुहार लिएर छिरे पनि निन्याउरो अनुहार लिएर बाहिर निस्कनु पर्ने अवस्था छ | क्याम्पस प्रशासनले यस समस्याको उचित सम्बोधन गरोस् भन्ने म लगायत अन्य सबै बिद्यार्थीको चाहाना हो | आशा छ आउदा दिनहरुमा यसबारे धेरै सुधार हुनेछ |

म जस्ता अन्य साथीभाइ, इस्टमित्रका नि आफ्नै सपना छन् | सबैका सपना साकार पार्ने जिम्मा पनि लिएको छ यस क्याम्पसले | आफ्नो कर्तब्य पुरा गर्दै पुल्चोक अनबरत रुपमा चल्नु जरुरि छ | अनेकौ बाधा, अबरोधका अगाडी नडगमगाई आफ्नो बाटोमा लाग्नु जरुरि छ क्याम्पस प्रशासनले | यतिका बर्ष राजनीतिक अस्थिरता थेग्दै शिर ठाडो पारेर उभिएको यस पुल्चोक क्याम्पस यसै गरि चल्नु जरूरी छ | ‘खुट्टा त्यसको तानिन्छ, जो माथि उक्लन खोज्छ वा उक्लिरहेको छ’ | पुल्चोक नि यस सम्बन्धि एउटा सफल उदहारण हो | नामी छ, दामी छ र त कुरा काट्ने, यसलाई तल झार्न खोज्नेको जमात पनि ठुलो छ | यसका लागि विद्यार्थी, प्रशासन, अनि अन्य सम्बन्धित क्षेत्रबाट उचित कदम चाल्नु जरुरि छ | फेरी क्याम्पसलाइ पहिलाको स्तरमा पुर्याउन मात्र होइन विश्वका राम्रा क्याम्पसमध्ये एक बनाउन सकिन्छ, आवश्यकता छ त केवल एउटा अठोट, संकल्प, क्याम्पसप्रतिको आस्था, श्रद्धा अनि माया | रगतले भिजेको माटो पनि पसिनाले पखाल्न सकिन्छ, समय त अबश्य नै लाग्छ, रोम पनि कहाँ एकै दिनमा बनेको हो र ?

बिहानको दश बजे देखि साँझ पाँच बजे सम्मको मेरो घर भने पनि पाठशाला भने पनि यहि हो | पुल्चोकको शिक्षा त मेरो जिन्दगीको पहिलो खुड्किलो मात्रै हो | हाम्रो देशका खोलाहरुले पुल पर्खेर बसेका छन्, खेतहरुले नहर पर्खेर बसेका छन्, गाउँले बाटो पर्खेर बसेको छ, अध्यारा झुपडीहरु बिजुली बत्तिको प्रतीक्षामा छन् | बिकासको तल्लो स्तरमा रहेको यो मुलुकलाई बिकसित मुलुकको दाजोमा पुर्याउन धेरै काम गर्न बाँकी छ | ती कामहरुले हामी जस्ता युवा जनशक्तिलाइ पर्खिरहेका छन् | ती कामहरु सम्पन्न गरी हामीले जन्मभूमिप्रतिको ऋण तिर्नु छ | यस यात्रामा हामीले धेरै लामो दुरी तय गर्नुछ, त्यसको लागि पुल्चोकको विद्यार्थी जीवन एउटा पाइला हो | यो पाइला राम्ररी चाल्न सकियो भने आगामी यात्रा पनि सफल र सुखद रहनेछ भन्ने आशा गरेको छु | यसबाट मलाई मात्रै हैन मेरो समाज र देशलाई पनि केहि फाइदा हुनेछ | यसर्थ यो मेरो अनन्य मित्र हो जससंग मिलेर धेरै कठिन र सफल बाटाहरु छिचोल्न बाँकी छन् | अहिले आएर मेरो गन्तब्य बनेको छ, यहाँबाट निस्किएको क्षण मेरो जीवनपाटोको दोश्रो उद्गमस्थल हुनेछ | यसर्थ पनि यो संस्थान मेरो जननी हो, ढुकढुकी हो, मनमा सधै बसिरहने, सधै माया लागिरहने |

अन्त्यमा : पुल्चोकले कैयौं सपनाहरुलाई बास दिएको छ, आधार दिएको छ कैयौं भबिस्यहरुलाई, उचाई दिएको छ कैयौं जीवनहरुलाई, ज्योति दिएको छ कैयौं घरहरुलाई, पुल्चोक कलेज मात्रै नभएर भरोसा बनेको छ स्रोत बनेको छ |

आफैले परिभाषित गरेको ‘भाग्यमानी’ हुन नसके नि छिमेकी दाइले भने बमोजिम ‘भाग्यमानी’ हुन पाउदा निकै हर्षित छु |

Abhash Acharya

सिभिल इन्जिनियर | MSc. (Transportation Engineering) अध्ययनरत । लेख्न लायक बायो बनाउनै बाकीं छ । पुन: चियाउने कष्ट गर्नुहोला ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *