आभास
Civil Engineer by Profession | Pursuing Master's Degree in Transportation Engineering | Assistant Lecturer at Universal Engineering and Science College | Columnist at sallerikhabar.com | Co-founder - nepaliwriters.com |

यसरी निकालें पुल्चोकमा नाम

अहिले प्रवेशपरिक्षा दिन पुल्चोक आइरहेका हरुलाई देख्दा पुराना दिन सम्झना आउछन् ! 
निकै अगाडी लेखिएको एउटा संस्मरण !

नयाँ बानेश्वर स्थित ‘लिभरपुल इन्टरनेसनल कलेज’बाट वाह्रको परीक्षा दिइसकेपछी, एकतिर उच्च माध्यमिक शिक्षा सकिएको खुसि थियो भने अर्कातिर के पढ्ने कसो गर्ने भन्ने अन्योल | यहि दोधारे मन लिएर केहि दिनका लागि घर (बिराटनगर) फर्किएको थिएँ म | दश जोड दुइको अध्ययन सकिएपनि, सो क्रममा पढिएका मोटा किताबको झझल्कोले भने यदाकदा तर्साइरहन्थ्यो | ‘फिजिकल’ ग्रुपको भएकाले ‘एम्.बि.बि.एस्’को लागि मेरो ढोका बन्द भइसकेको थियो | विकल्प थिए त कि इन्जिनियरिंग, कि ‘पियोर साइन्सका बिषय’ वा ‘ब्यबस्थापन’का बिषयहरु | बिज्ञानको बाटो कठिन नै होला भनेर ‘बि. बि. ए’ पढ्ने सोच पनि पलाउनु स्वभाबिक थियो | दुइ बर्ष कठिन यात्रा पार गरिसकेकाले पनि मलाई बिज्ञान छोडेर ब्यबस्थापन तिर मोडिन मन लागेन र इन्जिनियरिंग पढ्ने अठोट लिएर २०७० साल जेष्ठको पहिलो हप्ता काठमाडौँ तिर म लम्किएं |

इन्जिनियरिंग पढ्ने भन्ने बित्तिकै पहिलो रोजाईमा पर्छ पुल्चोकमा अवस्थित – इन्जिनियरिंग अध्ययन संस्था अन्तर्गतको केन्द्रीय क्याम्पस, पुल्चोक | छानिने भन्दा फ्यालिनेको संख्या बढी भएको हुनाले ‘तयारि कक्षा’ लिन पर्ने आवस्यकताकै रुपमा पर्थ्यो | ‘तयारि कक्षा’ लिनका लागि थापाथली स्थित ‘प्रोग्रेस एजुकेसनल एकेडेमी (पी. इ. ए.)’मा भर्ना गरेको थिएँ | समूह निश्चित गर्नका निमित्त काठमाडौँ आएको भोलिपल्ट कपनबाट थापाथली जानु पर्ने थियो | बाटो खासै कठिन थिएन, न संघर्ष गर्न पर्ने थियो | अचानक परेको मुसलधारे पानीले ज्यान मात्र भिजाएन, इन्जिनियरिंगको बाटो निकै गाह्रो छ भन्ने संकेत पनि दिएको आभास भयो | बिहानको ‘बि एस् ६०’ समुहमा पढ्ने निश्चित गरेर फर्किएँ |

मेरो नियमित पठनपाठन सुरु भइसकेको थियो | बिहान ६:३० देखि पढाइ सुरु हुने भएकाले र यात्राका लागि करिब १ घण्टा लाग्ने हुदा, मामाघरबाट (कपनबाट) ४:३० बजे हिडीसक्नु पर्ने मेरो बाध्यता थियो | एक घण्टा त केवल गाडीको यात्रा मात्र थियो, मामाघरबाट गाडी चड्ने ठाउँ (सुकेधारा) पुग्न करिब १५ मिनेट लाग्थ्यो | नाम निकाल्नै पर्छ भन्ने संकल्पले होला, त्यो १५ मिनेटको दुरी मेरो लागि निमेष भन्दा सुक्ष्म लाग्थ्यो | बबरमहलमा गाडीबाट उत्रेर थापाथली पुग्न पुन १० मिनेट जति हिड्न पर्थ्यो | (त्यतिखेर माइतीघरमा गाडी रोक्दैन थियो) | इन्जिनियरिंग पढ्ने तृष्णाले गर्दा पनि होला, कहिलेकाहिँ पी.इ.एको सटर नखुल्दै पी.इ.ए अगाडी गएर आधि घण्टा त्यसै उभिएका रमाइला प्रसंग सम्झनामा छन् | बबरमहल देखि थापाथलीसम्मको यात्रामा मेरा पाइला अरु भन्दा अलि छिटो चल्थे | सबैलाई उछिनेर नाम निकाल्न पर्छ भन्ने सोच मैले बनाइसकेको थिएँ | पहिला भन्दा अलि बढी प्रतिस्पर्धी भावना मनमा पलाउन थालिसकेको थियो |

भारि अंक बोकेका बिषयहरुमा मेरो लगाव अलि कम थियो | भौतिकशास्त्रमा मेरो खासै रुची थिएन तर ‘परिक्षाको सिलेबस’मा भने पचास अंक ओगटेको थियो, भौतिकशास्त्रले | भौतिकशास्त्रको कक्षा सुरु हुन साथ टाउको निहुराएर कि म झुल्न थालिसकेको हुन्थे, कि त रमाइला गजल कोर्न | रसायनशास्त्र अन्तर्गत ‘फिजिकल केमिस्ट्री’मा पनि अलि कमजोर थिए म | गणित मेरो प्यारो बिषय थियो, त्यसलाई अलि कम समय दिदा पनि हुन्थ्यो, त्यसैले म भौतिकशास्त्र मै भिडीरहन्थे, नबुझे पनि पिइदिन्थे सुत्रहरु | एक अंकले नै कम्तिमा ५० ६० ‘पोजिसन’ फरक पर्ने हुनाले धेरै अवस्थाको सिर्जना हुनसक्थ्यो :

  • नाम आफ्नो तर थर अर्कैको |
  • नाम थर दुवै आफ्नो तर तस्बिर अर्कैको |
  • नाम, थर र तस्बिर तिनटा नै आफ्नो भए नि – कि पैसा तिरेर पढ्ने कि फ्रिसिपमा पढ्ने |

नाम, थर र तस्बीर तिनवटा नै आफ्नो हुन जरुरि थियो, पुल्चोकमा रहेको केन्द्रिय क्याम्पसमा फ्रिसिपमा नाम निकाल्न | त्यसैले पनि संघर्ष एउटा अभिन्न पाटो भइसकेको थियो | प्रतिस्पर्धा र प्रबेश परीक्षा अब पुल्चोकमा नाम निकाल्न मात्र सिमित थिएन | १० बजे ‘पी.इ.ए’को चौथो कक्षा सकिनसाथ हत्त न पत्त निस्किएर, माइतीघर आइपुगेर कुद्दै गरेको गाडी पछ्याएर, चड्नु र सिट सुनिस्चित गर्नु अर्को चुनौती भइसकेको थियो | भोको ज्यान गाडीको ‘सिलिंग’मा राखेको फलामे डन्डी समातेर अड्याउन गाह्रो नै हुन्थ्यो | त्यसैले हर बिद्यार्थीले सिटको लागि प्रतिस्पर्धा गर्नु स्वाभाविक थियो | कपन पुग्न पुन: सुकेधारा बाट करिब १५ मिनेट हिड्नु पर्ने सम्झिदा गाडीबाट ओर्लन पनि मन लाग्दैन थियो | तर बिबशता – ओर्लनै पर्ने | कपन पुगेपछि खाना खाएर पढ्न बस्थे | भोको पेट – टन्न खाना, पढाइलाइ पराजित गर्दै निन्द्रा अंगाल्न पुग्थे | उठ्नलाइ कसैको फोन आउन पर्थ्यो, या कसैले बोलाउनु पर्थ्यो वा देख्न पर्थ्यो सपना ‘पुल्चोकको प्रवेश परीक्षामा सामेल भएको’ | उठ्नसाथ फेरी सुरु गर्थे पढाइ | ‘पी.इ.ए’ जान थालेको हप्ता दिन जातिमा ‘रसायन शास्त्र’प्राय पाठ सकाइसकेको थिएँ मैले | हरेक हप्ता परीक्षा हुन्थ्यो | तयारी फितलो भएपनि परीक्षामा सामेल भएको थिएँ | पहिलो परीक्षा खासै सन्तोषजनक भएन | १७५ पुर्णाकंमा केवल १०८ अंक आएपनि पुल्चोकले निर्धारण गरेको ४३२ जनाको सिट भित्र परेकोमा खुसि थिएँ | त्यो बेला मेरो ‘पोजिसन’ ३८७ थियो | बिराटनगरमा स्कुल संगै पढेका र कलेज नि उतै पढेका हरु १०० भित्र अटाउन थालिसकेका थिए | मनमा चिसो पस्थ्यो अनि म झन् अतालिन्थे र सराप्थे भौतिकशास्त्रलाइ | ‘एपटिच्युड, ड्रइंग, र अंग्रेजी’ ले पनि खासै साथ दिएका थिएनन् | बेलाबेलामा आफ्नै भनौदा ‘रसायनशास्त्र र गणित’ले नि साथ छोड्दा हरेक सनिबार हुने परीक्षामध्ये एक परीक्षामा ७०० भएको नमिठो यथार्थले पनि बिझाइरहन्थ्यो | अधिकांस बिद्यार्थी ‘एपटिच्युड, ड्रइंग, र अंग्रेजी’ अड्कलेर उत्तर दिने हिसाबले आउथे | उनीहरु भौतिकशास्त्र, रसायनशास्त्र र गणितमा जोड दिन्थे | मैले नि गर्ने गरेको त्यहि थियो, तर ‘पोजिसन’मा खासै सुधार भएको भने थिएन | भौतिकशास्त्रले मलाई साथ दिए जस्तो कहिले लागेन | त्यसैले निती बदल्न पर्ने सोच बनाएँ र पढ्न थाले अरुले नपढ्ने बिषय हरु ‘एपटिच्युड, ड्रइंग, र अंग्रेजी’ | अरुले बिगार्ने प्रश्नहरु मैले मिलाउन थालेको थिए एपटिच्युड, ड्रइंग, र अंग्रेजीको | ‘पोजिसन’मा केहि सुधार हुदै थियो | ‘पी.इ.ए’मा संचालित हुने भौतिकशास्त्रका कक्षा मलाई निकै कठिन लाग्थे – बिद्यार्थी तर्साउने खालका | त्यसैले ‘पी.इ.ए’को पढाइमा बिश्राम लगाउने र सोहि समयमा बरु घरमै बसेर पढ्ने निर्णय गरें | गुरु बनाए ‘पी.इ.ए’ले नै दिएको ‘भौतिकशास्त्रको किताब’, ‘बिशाल ज्ञवाली’ द्वारा लिखित ‘बिशाल कन्साईज फिजिक्स’ र योगेन राइको ‘ए. पी. सी. एम्’ | त्यो एक महिना जति लामो बिश्राम ‘काठमाडौँ बिस्वबिद्यालय’को प्रवेश परीक्षाको तयारीको लागि पनि थियो | त्यसबेलै हो मेरो ‘भौतिकशास्त्र’ संग अलि राम्रो बार्तालाप हुन सकेको | ‘पी.इ.ए’ले दिएको मोटो भौतिकशास्त्रको किताबका अधिकांस पाठ मैले सकिसकेको थिएँ | आत्माबिस्वास बढ्दै थियो | ‘रसायनशास्त्र’ अन्तर्गतको ‘फिजिकल केमिस्ट्री’ ले पिरोले पनि अलि अलि मिलाउछु भन्ने आत्मबिस्वासले गर्दा खासै निरुत्साहित भएको भने थिइन | कक्षामा मेरो अनुपस्थिति रहे पनि परिक्षामा भने सधै सामेल भइरहन्थे | ४८औ भएको खुसियालीका क्षणहरु पनि मगजमा ताजा छन् | म ४८औ हुदा नजिकका इस्टमित्र १० भित्र अटाइसकेका हुन्थे | प्रतिस्पर्धामा आफ्नै मित्र नि प्रतिस्पर्धी हुन्छन्, साथी भन्दा बढी प्रतिस्पर्धी भएर नै सोचिने रहेछ | त्यसैले त मन बेला बेला खिन्न हुन्थ्यो र कोर्थे ‘फ्रस्ट्रेसन’ निकाल्नलाइ कविताहरु :

 

 

म फुटें

अनि टुक्रिए

तितरबितर यताउती

संगालेर नासंगालिने गरि

अरु पुगेछन् अगाडी निकै

बगेको खोला नफर्किदो रहेछ

संगालेर हेर्छु छरपस्टिएका मोतिका दाना

माला पोते नबन्दो रहेछ

सोच्छु यहि हो जीवन गति

एकचोटी टुक्रेपछी

अनि बिसाउछु कलम

कहिले नउठाउने गरि

म अस्ताएं

कहिले नउदाउने गरि !

 

बाबा-ममीको आश, गुरुबर्गको ‘आभाषले त नाम निकाल्छ’ भन्ने विश्वास र स्वयम् आफ्नो सपना एउटा धागोमा गासिएका छन् जस्तै लाग्थ्यो | ‘आश, विश्वास, र सपना’ जति बढ्दै जान्थ्यो, धागोले भार थेग्न नसक्ला र चुडिएला भन्ने डर पनि उत्तिनै बढ्थ्यो | मानसिक द्वन्द थेग्न नसकेर पनि मैले ‘काठमाडौँ बिस्वबिद्यालय (के. यु)’लाइ पनि स्थान दिएको थिएँ | अर्थात् – मैले दुइटा नाउमा खुट्टा हालेको थिएं, दुइ नाउमा खुट्टा हाले डुबिन्छ भन्ने प्रख्यात कथनलाइ मात दिदै | ‘के. यु’को प्रवेश परिक्षामा सामेल हुन गएको थिएँ | हाम्रो ग्रुपका छ सात जना एउटा कक्षामा नै पर्यौ | म तिर हेरेर साथीभाइहरु मुस्कुराउन थाले – उनीहरलाई मैले सकेको सहयोग गर्छु भन्ने जनाउ दिन खुलेको मुस्कान चडाए | छेउमा पर्ने साथीको प्रश्न सेट अर्कै पर्यो | उही प्रश्न सेट पर्ने अघिल्लो बेन्चको साथीले सकेसम्म मुन्टो बटारेर भएपनि मैले चिनो लगाएकै उत्तरमा चिनो लगायो – मास्टरको आँखा छलेरै भएपनि | आफ्नै भनौदो ‘रसायनशास्त्र’का प्रश्न निकै कठिन थियो | ‘ए लेभल्स’ पढेकालाइ टार्गेट गरेर बनाइएको प्रश्न भन्ने थाहा भयो | परीक्षा सकिन नपाउदै मुसलधारे पानी पर्यो, छाताले छेक्न सकेनौ र एउटा ठुलो रुख मुनि छाता ओढेर केहि ढुक्क भएजस्तो गरेर बस्यौ | फेरी पनि पानीले इन्जिनियरिंग गाह्रो छ है केटा भन्ने जनाउ दिइरहेको थियो | तर मैले नडगमगाइ यात्रा गर्ने तय गरेइसकेको थिएँ |

मैले पुन: ‘पी.इ.ए’को कक्षालाइ निरन्तरता दिन थालिसकेको थिएँ | ‘के.यु’मा परिक्षा दिएको २ दिन जति पछी नतिजाफल प्रकाशित भयो | दुइवटा कक्षा सकिएर ब्रेक भएको थियो हाम्रो | मोबाइलमा ‘डाटा’ अन गरेर रिजल्ट डाउनलोड गरे साथीहरुले – ९८औ स्थान ओगटेछु | नाम निस्केकाले ब्रेकपछीको कक्षा लिएनौ हामीले (नाम निस्केका हरुले) | सिभिल इन्जिनियरिंग पढ्ने बिद्यार्थीहरु मध्येमा पहिलो सुचिमा मेरो नाम पनि थियो – भर्ना गरे ‘एक लाख आठ हजार’ नगद ‘के. यु.’ भित्रै रहेको ‘नेपाल इन्भेस्टमेन्ट बेंक’को खातामा जम्मा गराएर | काठमाडौँदेखि ओहोर दोहोर गर्न पर्ने भएकाले होस्टल बस्न पर्ने थियो, आवेदन फारम भरेर बुझाएँ | ठुलोममिको छोरा – विप्लब आचार्य पनि त्यहि पढ्ने भएकाले केहि राहत मिलेको थियो मलाई | बिद्यालय र कलेज संगै पढेको साथि अंकुर रेग्मीले नि ‘के.यु.’ मा भर्ना गरिसकेको थियो | एउटा कोठामा बसेर कलेज पढेका म, अंकुर र प्रशुन थापा मध्ये म र अंकुर सोहि बिस्वबिद्यालयमा पढ्ने भएका थियौ | प्रशुन पढ्नकै लागि अमेरिका ट्राइ गर्दै थियो | भर्ना भएपनि पठनपाठन सुरु भइसकेको थिएन | म कपन मै बसेर ‘पुल्चोक’ कै लागि तयारि गरिरहेको थिए | खुट्टा अझै दुइटा नाउमा नै थियो, ज्यान भने केहि हदसम्म ‘के.यु.’ तिर ढल्किदै थियो | म अलि बढी ‘टिभी’ हेर्न थालेको थिएँ, र नेट चलाउन पनि, कतै ठेगानलागेर मन ढुक्क भएको मेरो चेहराबाट नै थाहा पाउन सक्थे सबैले | मामा माइजु पढाइ कम हुदै छ क्या हो भनेर बेला बेला झस्काइराख्नु हुन्थ्यो – अनि फेरी केहि बेर पढ्थे |

कक्षा बाह्रको परीक्षाफल सार्बजनिक भयो, ८८.२ प्रतिशत अंक ल्याएर नेपाल प्रथम भएछु | ११ र १२ दुवै मिलाएर ८८ प्रतिशत थियो मेरो – नेपाल दोश्रो भएको थिएँ एग्रिगेटमा चै | मनमा खुसीको सिमा रहेन | ‘पुल्चोक’मा नाम निकाल्न पर्ने बाध्यता सिर्जना भएको जस्तो भयो | भोलिपल्ट नयाँ बानेस्वर स्थित आफु पढेको कलेज गएँ | अबिर दलेर खुसियाली मनाइयो, घ्युहालेर बनाइएको लड्डुले मुख मीठो पारें र सानमा छोटो अन्तरबार्ता जस्तो दिए ‘एभिन्युज टेलिभिजन’लाइ | ‘अबको तयारी के छ ?’ भनेर प्रश्न तेर्साइयो | अलिअलि डराउदै भएपनि भने ‘सिभिल इन्जिनियरिंग पढ्ने लक्ष्य छ, पुल्चोकको लागि तयारी गर्दैछु |’ मनमा डर, काधमा अभिभारा र आँखामा सपना भएको आभास भयो | थकालीमा अभिजित शाहले म:म खुवायो र म चढे कपन जाने गाडी | मामाघरमा पनि मिठाइ खुवाउनु थियो | चाबेलमा उत्रिएर ‘गुप्ता एंड गुप्ता स्विट हाउस’बाट लड्डुकिने र पैदल लागे गन्तब्य तर्फ | सिर्जनानगर नजिकै सिद्दार्थ बेंक लिमिटेडमा ‘पुल्चोक’को लागि फर्म भर्न पैसा जम्मा गरें ‘पुल्चोकको खातामा’ | सोहि बेला फोन आयो – नचिनेको नम्बरबाट र नमस्कार ठोक्न लगाइयो | लाचार भएर ठोके | बिराटनगरका छिमेकी दाइ हुनुदो रहेछ – निमेष निरौला | दाइले पनि इन्जिनियरिंग पढ्नु भएको थियो, भक्तपुर स्थिति ख्वप इन्जिनियरिंग कलेजबाट | बधाई दिदै भन्नु भयो – निकै खुसि लागेको छ, यो त सुरुवात हो, नाम निकाल्छौ, तिमीमा केहि छ भन्ने मलाई थाहा थियो | मलाई नै थाहा नभएको कसरी थाहा भएछ दाइलाई भन्ने सोचेर भएपनि हाहा धन्यबाद भनेर फोन राखें | नयाँ तरिकाले तयारी गर्नु थियो र अटाउनु थियो – पुल्चोकमा सिभिल इन्जिनियरिंग पढ्ने हरुको सुचिमा | त्यसैले फेरी सुरु गरे तयारी ‘टिभी’ र ‘नेट’ दुवै कम गरेर | सनिबार हुने परिक्षामा पनि नजानेको प्रश्नमा दिमाग चलाउन थालेको थिएँ, पहिला त्यसै लाइदिन्थे चिनो हरु | केहि दिन मन लगाएर पढेपछी फेरी घमण्ड पलायो – ‘म नेपाल टपर, मैले ननिकाले कसले निकाल्छ नाम’ भन्ने | पढाइ फेरी कम हुदै गयो, टिभी र नेट बढी | पुल्चोक गएर नै फर्म भर्ने निर्णय गर्यौ – म, पासांग काजी तामांग, प्रतिक श्रेष्ठ, अभिषेक गौतम, लेखनाथ भण्डारी र मनोज बस्यालले | अब भने मेरो ‘के.यु.’मा पढाइ सुरु भैसकेको थियो | हामी काठमाडौँबाट ओहोर दोहोर गर्थ्यौ, होस्टलमा नाम निस्केपनि कोठा खालि नभइसकेका ले | काठमाडौँबाट ओहोरो दोहोर गर्नेमा म, प्रतिक श्रेष्ठ, कृतिस जंग कार्की र अजित श्रेष्ठ हुन्थ्यौ | बिहान छ बजे नै हिडीसक्न पर्थ्यो | हप्ता दिनजति ओहोर दोहोर गर्यौ |

‘पुल्चोक’को लागि प्रवेश परीक्षा भोलिपल्ट थियो, एक दिन अगाडी (सुक्रबार) मामाघर नै बसेर तयारी गरें | त्यो दिन पढ्न भ्याइन्थ्यो त केवल ‘योगेन राइ’को ‘ए.पी.सी.एम्’ र ‘पी.इ.ए’ पढ्दा लेखिएका केहि ‘नोट’हरु | त्यति पढेर राती करिब नौ बजे तिर सुतें | एघार बजेको परीक्षा थियो – परिक्षा केन्द्र परेको थियो ‘ख्वप इन्जिनियरिंग कलेज’, मेरो बसाइ र परीक्षा केन्द्र थियो ‘मेची र महाकाली’ जस्तो | जुन ड्रेसलाउदा परीक्षा सधै राम्रो हुन्थ्यो त्यहि ड्रेस लगाएर  ‘ख्वप इन्जिनियरिंग कलेज’ जाने बाटो सोध्न ‘निमेष निरौला’ दाइलाई फोन गरें | उहाँले च्यामसिंगजाने गाडी चढ़ भन्ने सल्लाह दिनु भयो, त्यसै गर्ने सोच बनाउदै थिए – एक्कासी बन्द छ रे नि त भनेर फोन आयो | उपाय केहि निकाल्न सकिन | हत्त न पत्त फोन लाए ‘पासांग काजी तामांग’लाइ | उसको परीक्षाकेन्द्र ‘धापाखेल स्थिति – कान्तिपुर इन्जिनियरिंग कलेज’ परेको रहेछ | त्यहि पनि ‘म तिमीलाई ख्वप पुर्याएर आफ्नो परीक्षाकेन्द्र फर्किन्छु’ भनेर मन शान्त पारिदियो | अभिषेक गौतम र उसको साथी अमितको नि ‘ख्वपमै परिक्ष भएको ले गर्दा गंगबु बाट हिड्दै चाबेल आइरहेको कुरा थाहा पायौ | पासांग र म पासांगको मोटरबाइकमा चाबेल के पुग्याथ्यौ, बन्दकर्ताले बाइक रोक, मैले परीक्षा छ भनेर हातमा बोकेको प्रवेश पत्र देखाएँ र गौशला तिर लाग्यौ | बाटोमा अभिषेक र अमित भेटिए | एउटा ट्याक्सी खोजेर म, अभिषेक र अमित ख्वप जाने निर्णय गर्यौ र पासांग धापाखेल नै जाने भयो | बल्ल तल्ल एउटा ट्याक्सी खोज्यौ १५०० भाडा लिने कुरा भन्यो | म संग भएको ३०० झिके अभिषेक र अमितले ५०० ५०० झिके अनि बाँकी काजीले आफ्नो खल्तीबाट दियो | म अघिल्लो सिटमा बसें, अभिषेक र अमित पछिल्लोमा | बन्दकर्ता नजिक पुग्नसाथ प्रवेश पत्र अगाडिको सिसामा टासेको जसरि राखिदिन्थे, यसरि ख्वप पुग्दा करिब १० बजेको थियो | परीक्षा बन्दले गर्दा सरेर १ बजे हुने सुचना आयो | ललितपुर निवासी निर्मल सुबेदी अंकलको फोन आयो | अंकल र बाबा साथी हुनुन्छ | घरबाट फोन गर्दा नलागेपछि बाबाले अंकललाइ हालखबर बुझ्न लगाउनु भएको रहेछ | मैले परीक्षा १ बजे हुने र आफु ठिक भएको जानकारी गराउदै फोन राखें | कलेज पढेका दुइ साथी आयुष काफ्ले र अभिजित शाहसंग भेट भयो | काफ्लेले प्रवेश पत्र समेत लेमिनेसन गरेर आएको रहेछ | त्यसको खुबै खिल्ली उडाइयो | त्यतिको एउटा अंकल आएर काफ्लेले नाम निकाल्छ जस्तो छ भनेर प्रतिक्रिया दिए – आफुले त्यस्तो प्रतिक्रिया सुन्न नपाउदा अलि खिन्न लाग्यो | ‘वालेट स्वालेट’ केहि बोक्न पाइदैन, हातमा कोरेको छ भने पनि मेटावो भनेर काफ्लेले मलाई र अभिजितलाइ सजक बनायो | हामीले पनि त्यसैले भने बमोजिम गर्यौ | काफ्ले र म ७ ८ जना गार्ड बसेको हलमा पर्यौ, अभिजित अर्कै कक्षामा परेछ | प्रश्न पत्र र उत्तर पुस्तिका पाएपछि प्रश्न हल गर्न थाले | अन्तिमको १० १५ मिनेट बाँकी रहदा अब मैले सकिन भन्ने भान भयो | उत्तरपुस्तिका बुझाउन के उठ्न लागेको थिएँ – ठ्याक्क एउटा प्रश्न हल गर्ने तरिका जाने र सो हल गरेर हलबाट निस्किएँ | प्रश्न सजिलो आएको हुनाले नाम ननिस्केला भन्ने डर झन् बढ्यो | भोलि पल्टदेखि फेरी ‘के.यु’ को यात्रा सुरु गरें | भाद्र महिनाको बुधबार हो क्यार, ‘के.यु.’ को क्यान्टिनमा तिनवटा रोटि र तरकारी खान बसेका थियौ प्रतिक र म | बिराटनगरबाट अनुभव पोखरेलको फोन आयो | रिजल्ट आएछ भन्यो र आफ्नो ‘पोजिसन’ ४३२ भित्र रहेको जानकारी गरायो तर प्रतिशत भने केवल १.३४ यस्तै कति आएको बतायो | मैले नि आफ्नो सिम्बल नम्बर लेखेर खै कतिमा पठाउनुपर्ने थियो पठाए | मेसेज आयो – ABHASH ACHARYA. Rank: 78. Percent: 1.56. खादै गरेको रोटि र तरकारी खुसि लागेर फ्याल्दिए | एम् फिल गर्दै गर्नु भएका लिभरपुलका सरहरु पनि त्यहि हुनुन्थ्यो | हत्त न पत्त चेतनाथ तिवारी सर र अर्जुन अधिकारी सरलाइ रिजल्ट सुनाएँ | उनीहरु पनि खुसि हुनु भयो | एकछिन पछी फेरी फोन आयो | अनुभव कै रहेछ | ‘अघि आएको रिजल्ट’ त ‘फेक’ पो रहेछ भनेर मन खिन्न बनाइदियो | फेरी सिम्बल नम्बर हालेर मेसेज पठाएँ | मेसेज आयो – ABHASH ACHARYA. Rank 156. Percent: 78. अघिल्लो रिजल्टमा र्यांक पर्सेन्ट भएको रहेछ र पर्सेन्ट र्यांक | खुसीको सिमा रहेन | घरमा फोन गरेर सबैलाई सुनाएँ | असोज ५, २०७० मा १०:४५ बजे भर्ना गरेर ‘पुल्चोक इन्जिनियरिंग क्याम्पस’ को आधिकारिक बिद्यार्थी बनें | दुइ नाउमा रहेको खुट्टा अब केवल एक नाउमा रह्यो | ‘आश, विश्वास, र सपना’ जति बढ्दै जान्छ, धागो कमजोर हैन झन् बलियो हुने रहेछ भन्ने कुरा पनि त्यसै बेला थाहापाएँ |

Abhash Acharya

सिभिल इन्जिनियर | MSc. (Transportation Engineering) अध्ययनरत । लेख्न लायक बायो बनाउनै बाकीं छ । पुन: चियाउने कष्ट गर्नुहोला ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *