सम्झौता

Spread the love

सम्झौता गरेर परदेशियो ऊ
श्रीमती संगको सम्झौता
केहि बर्ष टाढा रहने !
छोरो संगको सम्झौता
उसको भविष्यका लागि विदेशिने !
साउ संगको सम्झौता
कमाएर फर्केपछि ऋण तिर्ने !
आमालाइ दिएको आस्वासन
बुहारीले राम्ररी हेर्ने छे !
आफ्नो जिन्दगी संग त झन्
कति सम्झौता गर्यो गर्यो !

दुइटा रोटि
तातो घाम
अनि बालुवामाथिको काम
परिशान थियो
लाचार पनि
सक्दैनथ्यो फर्कन
सम्झन्थ्यो सम्झौता हरु !
श्रीमती संगको सम्झौताले रुन्थ्यो !
छोरोको उज्ज्वल भबिष्य सम्झिन्थ्यो अनि हास्थ्यो !
साउ संगको सम्झौताले बिझाउथ्यो छटपटाउथ्यो !
तर लाचार !
कि महिनौ पछाडी घर फर्किन्थ्यो
कि बर्षौ पछाडी
नफर्किन पनि सक्थ्यो कतै !
साकार हुन सक्थे सपनाहरु
तुहिन पनि त सक्थे !
फक्रिन सक्थ्यो आशाका फूलहरु
पत्र पत्र भएर चुडिन पनि त सक्थ्यो !

सकुशल फर्किए त ठीकै छ
तर यदी फर्कन पनि सम्झौता काठको बाकससँग गर्नु पर्यो भनें !
फर्किदा घरमै श्रीमती छिन् भने त ठिकै छ
अन्तै लागिसकेकी छिन् भने नि ?
सकुशल फर्केर श्रीमती नभेट्दा
कोहि अरुको रंगिन्छ होला त भाग्य ?
कि बस् सिउदो मात्र रंगिन्छ ?
बाकसमा आएको थाहा पाएर
अन्तै लागेकी श्रीमतीले पुछ्लिन् त सिन्दुर ?
आखिर पति त ऊ पनि त थियो
सिन्दुर पनि त थियो सिउदोमा
बस् कसको नामको भन्ने ?
सकुशल फर्केर छोरो भेट्दा
बाबा भनेर अंगालोमा आउन खोज्ला ?
कि तर्सेर टाढिदो हो झन् झन् !
बाकसमा फर्केको बाउ
हेर्न नपाइ
कोहि अर्कै बाउ भनेर आमाले चिनाइसकेकी रैछिन् भने ?
सकुशल फर्केर साउको ऋण तिरे भने त ठिकै हो !
बाकसको लाश कसैलाई बुझ्न नदिने निर्णय साउले गरे भने !
सोचे जति सजिलै के चल्थ्यो र जिन्दगी !
सकुशल फर्किए पानी हालेर सपनाको फूल उमार्लान् !
बाकसमा फर्किए भने मल बनेर बगैचाको फूल

त्यसैले त होला
हरेक पल्ट आकाशमा चिलगाडी उड्दा
उसकी आमा कराएर रुन्छिन् !

-आभास

Leave a Comment

Your email address will not be published. Required fields are marked *