आभास
Civil Engineer by Profession | Pursuing Master's Degree in Transportation Engineering | Assistant Lecturer at Universal Engineering and Science College | Columnist at sallerikhabar.com | Co-founder - nepaliwriters.com |

सुकुटे यात्रा – मोटाहरुको सवारी !

यात्राका सहभागी: आभास (म आफैं), आकृत, गौरब, ग्रीश्मा, समता, सागर, बिदिश, कोमल, काजल, सहिष्णु

असोज ५ , २०७५
बिहान ७:३० तिर जडिबुटीबाट गाडी चढ्यौ | गाडी सागर दाइले बुक गर्नु भएको थियो, पुरानो चिनजान भएको साथी रमेशसंग | म र सागर दाइ माइक्रोको अगाडी बस्यौ | समता दिदी र ग्रिश्मा जेष्ठ नागरिक लेखिएको सिट मुनि बसे | बिदिश, आकृत, सहिष्णु र गौरब अन्तिम सिटमा बसे | कोमल कौशलटारबाट चढ्ने बाल थियो, काजल सल्लाघारीबाट | माइक्रोको उल्टो सिटमा हामीले हाम्रो झोला राख्यौ, छड्के सिटमा गाडीकै दुइजना – आकाश दाइ र अर्को एक जना भाइ बस्नु भयो | ड्राइभरको भूमिका रमेशदाइले नै निर्वाह गरे | कोमल कौशलटारबाट चढ्यो र महिला सिट लेखिएको सिटमा बस्यो, अन्त बस्ने विकल्प थिएन | काजल सल्लाघारीबाट चढी र त्यसै गरी महिला सिट लेखिएको सिटमा बसी |

सागर दाइ र रमेश दाइ गाडी पुरानो भयो र बनाउनु पर्ने कुरा गर्दै थिए |

सागर दाइ: गाडी बनाउ तिम्रो, पुरानो भयो |
रमेश दाइ: भर्खर त लेको दाइ, बनाउछु दशैं अगाडी |
सागर दाइ: अरुको गाडी भाको भए फ़र्काइदिन्थे म |
रमेश दाइ: त्यही भएर त मै आको नि दाइ, थाहाभएर |
सागर दाइ, म र रमेश दाइ संगै हास्यौ |

सल्लाघारीबाट अलि अगाडी लागेपछि, ट्राफिक पुलिसले गाडी छेउलाउन निर्देशन दिए | गाडी बास्तबमै अलि थोत्रे रैछ जस्तो लाग्यो, पुलिसले चिट काटेपछि | लाइट नबल्ने रैछ, नम्बर प्लेट नि फेर्ने निर्देशन दिए ट्राफिकले | डोलेश्वरसम्म हो भनेर हामी हिड्यौ – सुकुटे सम्मको लागि |

रमेश दाइ गुनासो गर्न थाले – के गर्नु बत्ति जत्ति फेरे नि फ़िउज भैरन्छ, खर्चै खर्चै छ | अब दशैंमा चै रिजर्भ हिड्न पर्छ, त्यो भन्दा अगाडी गाडी बनाउनु पर्छ | म ए ए भन्थे र मुन्टो हल्लाउथे, अलि बढी गफ सागर दाइले गर्थे | यात्राकै दौरान साँगा पस्ने कुरा भयो | हामीले पार्किङ्गमा गाडी राख्यौ र हिड्यौ शिव भगवानको मुर्ति भए तिर | फोटो अलि बढी खिचिन्छ | मैले क्यामेरा निकालेर रेडी पारुन्जेल सबै पोज दिएर ठिक्क परिसकेका हुन्छन्, पर्न भ्याईनसकेका हरु अरुको फोटो खिचुन्जेलमा तयार भैसकेका हुन्छन् | मन्दिर परिसर घुमिसकेर हामी फर्कियौ – अर्को गन्तब्य धुलिखेल डांडा बनाएर |

धुलिखेल बसपार्कमा रमेश दाइ उत्रिए, गाडी आकाश दाइले लिएर जाने कुरा भयो, डांडा सम्म | टुरको हिसाब किताब राख्ने जिम्मेवारी मेरो थियो | म र सागर दाइले मिलेर चिप्स, चिजबल्स, चाउचाउ र अरु खानेकुरा किन्यौ | गाडी मास्तिर उक्लिन थाल्यो, धेरै माथी पुगेछौ, सोध्दै खोज्दै फेरी सहि बाटो पहिल्याएर उक्लियौ | अक्सर त्यहाँ पुग्ने सबैले फोटो खिचाउने एउटा ढुंगा रहेछ | हामी जादा दुइ जनाले खिचाउदै थिए तस्बिर, त्यहि ढुंगामा | हामीले नि पालै पिछे खिचायौ | हामी पछाडी पनि चार पांच जनाको अर्को टोली फोटो खिचाउन तयार देखिन्थ्यो |

हामीले खाजा जसरि कच्याककुचुक खायौ र निस्कियौ, सुकुटे तिर | गाडी पुन: रमेश दाइले नै चलाउन थाले | हुस्सुले बाटो पुरै ढाकेको जस्तो देखिन्थ्यो, पानी अलि अलि पर्ला जस्तो थियो | हामी अन्ताक्षरी खेल्दै रमाउदै हिड्यौ | आफुलाई मन पर्ने गीत र जानेको रैछ भने रमेश दाइ पनि हामी संगै ताल मिलाउथे | ट्रीपर हाँकेको, बाइक उडाको सबै गफ लाउन भ्याए रमेश दाइले | अर्को गाडी जोड्ने सपना पनि सुनाए | म सुनिराख्थे, खासै बोल्न आउदैन, यस्तो कुराहरुमा | घरिघरिको रमेश दाइ र सागरदाइको सम्बाद मजालाग्दो हुन्थ्यो | अन्त्यमा हामी तीनजना नै हास्थ्यौ |

गाडीले दोलालघाटको पुल नाघ्यो | सबै लोकल माछा खाने सुरमा थिए | म माछामासु नखाने भेज, समता दिदी माछा खाने भेज | माछा खाने भएपछी दिदी पनि दंगै हुनुन्थ्यो | बनदेउ कटेर खाना खाने कुरा भयो | न्यु सिम्ले रिभरसाइड रेस्टुरा कि यस्तै के थियो नाम – हामीले त्यहि खाना खाने निर्णय गर्यौ | समता दिदीले माछा हेरेपछि पनिरको तरकारी नै खाने कुरा गर्नु भयो | म र समता दिदीले पनीर संग खाना खाने निर्णय गर्यौ | ३ केजी माछा खाने कुरा भयो – केजीको १०००को दरले | गाडीका ३ जना स्टाफ र अरु ७ जनाले मासुभात नै खाने भए | काजलले चिकेन म:म खाने भई |

खाना मिठो थियो, तरकारी पनि मिठो नै थियो, पनीर त्यसै मन पर्थ्यो | खाना खादै गर्दा सहिष्णुको मासुमा सिसाको टुक्रा भेटियो | सागर दाइ आक्रामक शैलीमा उठे | ‘छोड्दे सब खाना छोड्दे’ भन्दै |नखाउ कतै नभाको भोक लागिराछ, खाउँ – सिसाभाको खाना नि के खाए जस्तो हुने | बढो डिलेमामा परियो | बिदिश र म मुखामुख गर्न थाल्यौ, ग्रिश्माले खाइराखिन् | ड्राइभरदाइ हरु हल्लिएनन् | बिदिशले थ्री इडियट्सको सिन सम्झाउदै भन्यो – मटर पनीर पे कन्सनट्रेट कर्, एकछिन त्यसई गरें | होटलबाला संग अलि चर्का चर्की जस्तै पर्न थालेपछि हामीले छोड्यौ, खाइरखेको खाना |

बिलतिर्ने बेला साहुनी एक्लै बोलिरहिन्, कहिलेकाहीं यस्तै हुन्छ नि बाबु, सबै हेर्न भ्याइदैन के गर्ने ? तपाइँहरुको दशवटा मासु भातलाइ ९ गराईदिन्छु, पनिर भेज मै राख्दिन्छु | हिसाब गरेर ४२०० निकालिन् | अनि आफैले सोधिन् ‘तपाईहरु कहाँबाट ?’
‘काठमाडौँ’ सागर दाइले भने |
काठमाडौँ कुन ठाउँ – उनले जिज्ञासा राखिन् |
बानेश्वर – सागरदाइले फर्काए |
कलेजबाट आउनु भा हो ? – उनले जिज्ञासा मेट्न चाहिन् |
‘हैन खाद्यान्न बिभागबाट’ सागरदाइले उत्तर दिए, नम्र पारामा र होटलको तस्बिर खिचे | तपाइको होटलको निरीक्षणको लागि आएको, फेरि आइतबार नत्र सोमबार आउनेछौ | यति भनेर सागर दाइ र म हिड्यौ | साहुनीको अनुहार हेर्ने जमर्को गरिन मैले, सिसा परे देखिनै मलिन भैसकेको थियो |

ब्याट्री डाउन भएछ क्यार, गाडी धकेल्न पर्ने भयो, हामीले त्यसै गर्यौ | सुकुटे पुग्न लगभग १० किलोमिटर जति हुँदो हो | खोला झुलुङ्गे पुलबाट तरेर, पानी खेल्ने कुरा भयो | झुलुङ्गे हल्लाएर तर्साउने बढी भेटीए, सहिष्णु अलि बढी नै डरायो | धुलिखेलको ढुंगा चढ्दा पनि डराएको सहिष्णु, फेरि डराएपछि, र्याफ्टिंग कसरी गर्ला भन्ने पीर सबैमा लाग्यो | खोलाको बगरमा अनेकौ तरिकाले फोटो खिचाएपछि, हामी फर्कियौं | गाडी चढ्यौ र हानियौ सुकुटे तिर |

Abhash Acharya

सिभिल इन्जिनियर | MSc. (Transportation Engineering) अध्ययनरत । लेख्न लायक बायो बनाउनै बाकीं छ । पुन: चियाउने कष्ट गर्नुहोला ।

You may also like...

1 Response

  1. October 2, 2018

    […] सुकुटे यात्रा – मोटाहरुको सवारी ! […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *