आभास
Civil Engineer by Profession | Pursuing Master's Degree in Transportation Engineering | Assistant Lecturer at Universal Engineering and Science College | Columnist at sallerikhabar.com | Co-founder - nepaliwriters.com |

सुकुटे बसाईं – थकान / आनन्द


बगरमा अनेकौ समूह, अनेकौ जोडी, सबैको आफ्नै ताल थियो | सबै आफ्नै प्रकारले रमाइरहेका थिए | कोही लिङ्गे पिङ्गमा रमाइरहेका देखिन्थे, कोही अंगालोमा | कोही नाचमा त कोही बातमा | नेपाल आमाका सन्तान थरीथरीका |

असोज ५ , २०७५

हामी करिब २:३० तिर सुकुटे पुग्यौ होला | सागर दाइ र म व्यवस्था बुझ्न निस्कियौ, अरु गाडीमै बसे| गार्ड दाइसंग कुरो बुझिसकेर, मैले फोन लगाए गाडीबाट झोलाहरु लिएर आउन भनेर | हामी रिसेप्सन तिर लाग्यौ, भरिसक एकै कोठा मिलाउने आग्रह गरियो, त्यही अनुरुप सुनकोशी नाम गरेको कोठामा बसियो | एकजना दाइ आएर ब्रिफिंग गर्नु भयो – सुकुटेको नियमहरु होलान् सायद |अनि रिसोर्टको बारेमा सामान्य जानकारी दिनु भयो | व्यवस्थापन सम्बन्धि केही गुनासो थिएन |

३ बजे सम्ममा हामी फ्रेस भैसकेका थियौ | स्न्याक्सको लागि समय ५:३० तोकिएको थियो | भोलिपल्ट र्याफ्टिंगमा सहभागिता जनाउनु थियो | र्याफ्टबाट लडीहालिएछ भनेपनि पानीमा पस्दा कस्तो अनुभव हुने रैछ भनेर विचार गर्न भएपनि एकचोटी पुलमा डुबुल्की मार्नु थियो | पौडिन कोमल बाहेक अरुलाई आउदैन थियो | पहिलो पल्ट पुल छिरें म, बगाए जस्तो आभास भयो | अलिअलि डर, अलि अलि मजा, आधि घण्टा त्यसै डुबुल्की मारेर बसियो | कोमल आफुले जानेको कला देखाउदै थियो | अलि अलि हामीलाई पौडिने तरिका सिकाउदै पनि थियो | समता दिदी, काजल र ग्रीश्मा खोलाको बगर तिर लागेका रहेछन्, फोटो सेसनका लागि, पछि फेसबुकमा फोटो हेरेपछि थाहाभयो |

उनीहरु फ़र्किएपछि हाम्रो तस्बिर खिचिदिए, पुलमा पौडे जस्तो गरेको | अलि चिसो हुन थालेपछि हामी निस्कियौ, जिउ पखाल्यौ र लाग्यौ बगर तिर, भलिबल खेल्न | त्यो पनि मेरो पहिलो अनुभव थियो | सर्भ मैले गर्ने इच्छा देखाएँ, सर्भ पनि राम्रै गरें | अपोनेन्टले फर्काएको बल कति उठाउन सकियो, कति सकिएन | हामीले तीन गेम लगातार जित्यौ, अनि दुई गेम लगातार हार्यौ | हात गलेर पनि होला, अलि बढी हारेर पनि होला हामीले त्यसपछि खेलेनौ | स्न्याक्सको समय भएको थियो, गयौं र बजायौं |

स्न्याक्स पछि एकछिन आराम गर्यौ | आराम गर्यौ पनि के भन्नु – त्यो समय र्याफ्टिंगको बारेमा छलफल गर्ने बेला हुन्थ्यो | अनि आधि सहभागी आराम कै समयमा गल्थे | म पनि गल्थे | सबैलाई चिन्ता सहिस्णुको थियो, अझ बढी तनाब सागर दाइ र समता दिदीको अनुहारमा झल्किन्थ्यो |
हामीले र्याफ्टिंगको फारम भर्यौ र सही ठोक्यौ | फारमको अन्तिमतिर लेखिएको थियो –Suppliers accept no responsibility for any illness, injury or death. हस्ताक्षर सहिंष्णुले पनि गज्जब गरेको थियो | फारम बुझाउन सागर दाइ र म निस्कियौ | फारम बुझायौ र कुपन लियौं |

क्यारम बोर्ड खाली रैछ – म र सागर दाइ दुइ तिर बस्यौ, एक टिम जसरी ! फोन गरेर बिदिश र आकृतलाई बोलाएँ | गौरब र कोमल संगै ग्रीश्मा, समता दिदी र काजल पछि आए | पालै पिछे क्यारम खेलेर, नाच्ने कुरा भयो |मेरो नाच्नमा रुची छैन, दक्षता पनि छैन | सायद दक्षता छैन, त्यसैले रुची छैन | म फेसबुकमा लाइभ गएँ | समता दिदी, काजल, ग्रीश्मा, बिदिश, कोमल, गौरब र आकृत नाच्नमै व्यस्त थिए | सहिष्णु म संगै बसेको थियो | सागर दाइ चिसो किन्दै थिए | सबै चिसो पिउदै नाच्न थाले, म चिसो पिउदै लाइभ | कमेन्टमा मेरो नाच हेर्न इच्छा जाहेर गर्ने हरु प्रसस्त देखिए, म डगमगाइन | हाम्रो टोलीको नाच हेरेर रमाउने हरु पनि थिए, गौरबको भूमिका त्यसमा उल्लेखनिय छ |

चिसो लिएर म, सागर दाइ, बिदिश र कोमल खोलाको बगर तिर लाग्यौ | अनि बसेर बात मार्यौ | सुख दुख जिन्दगीका कुरा भए | एकछिनमा माथि नाचिरहेको टोली तल नै आइपुग्यो अनि फेरी नाच सुरु भयो | एकछिनको नाच पछि म, सागर दाइ, बिदिश, आकृत, कोमल र काजल फुटबल खेल्न लाग्यौ | बगरमा अनेकौ समूह, अनेकौ जोडी, सबैको आफ्नै ताल थियो | सबै आफ्नै प्रकारले रमाइरहेका थिए | कोही लिङ्गे पिङ्गमा रमाइरहेका देखिन्थे, कोही अंगालोमा | कोही नाचमा त कोही बातमा | नेपाल आमाका सन्तान थरीथरीका |

माथिबाट सुचना फुकियो – नौ बज्यो, डिनरको समय भयो, उपस्थित हुनुहोला | नाच्ने टोली कोही डगमगाएनन् | नाचगान, गफगाफ चलिनै रहयो | साढे नौ बजे तिर फेरि सुचना फुकियो – उपस्थिति जनाउनुहोला | त्यसपछि भोजनको लागि उक्लियौ हामी | पानी छ्यापेर पुलमा रमाइरहेका थुप्रै देखिन्थे | बियरको चुस्कीसंगै पुलको मजा लिएरहेका थिए कोही, कोही टेबलटेनिसमा रमाउदै थिए | समता दिदी र म पनीर मै रमायौ, अरुले मासु दन्काए |

अनि आराम गर्ने बिचार गर्यौ | आराम भनेको त्यहि र्याफ्टिंगको गफ अनि फेरी भित्रै देखि गल्ने बहाना | र्याफ्टिंग गर्दा यहा यस्तो भाको थियो, त्यहा यस्तो भयो रे भनेर कुरा चलिरह्यो | जति बढी कुरा सोच्यो, त्यसै कमजोर हुदै गइन्छ, हाम्रो ग्रुपमा पनि त्यस्तै भैराखेको थियो | थाहा नपाउञ्जेल नै आनन्द थियो कुराहरु जस्तो, थाहा पाएपछि अथाहा | सहिंष्णुले र्याफ्टिंग नगर्ने भयो | खेलाडीको संख्या १० बाट ९ मा पुग्यो | कोमल, सागर दाइ, गौरब, आकृत र काजल UNO खेल्न बसे | बिदिश सुतिसकेको थियो | समता दिदी र ग्रीश्मा ढल्किरहेका थिए | म मोबाइलमा फेसबुक हेरिरहेको थिए, सहिष्णु UNO हेरिरहेको थियो | त्यतिकै अलि अली गफगाफ गर्दै निदाएँ म | UNO खेलाडीहरु अलि पछि निदाएछन् |

***

यो पनि पढ्नुहोस्:

Abhash Acharya

सिभिल इन्जिनियर | MSc. (Transportation Engineering) अध्ययनरत । लेख्न लायक बायो बनाउनै बाकीं छ । पुन: चियाउने कष्ट गर्नुहोला ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *