अप्रिल २५, २०१५मा गएको विनाशकारी भूकम्पको सम्झनामा अप्रिल ३०,
२०१५मा यो कविता लेखिएको थियाे |
ढले ति स्वाभिमानी भवनहरू
नढलेकाको शिर झुक्यो
कति अंगभंग भए
गर्ल्यामगुर्लुम !
…
अस्तव्यस्त मानव जीवन
घरमाथि बस्नेहरु
घर मुनि छन्
थिचीइरहेका !
…
रहेन मन्दिर
बचेनन् ‘स्क्वेर’हरु
धरहराले हार मान्यो
निर्विकल्प !
…
कोही माथिबाट तल झरे
कोही तलबाट माथि चढे
भाग्नेहरु थुप्रै
क्षतविक्षत !
…
आएछ सहयोग, पुगेन राहत
फैलिरहेछन् हातहरू
यता अरू कोही हात तन्काइरहेछन्
भ्रष्टाचार !
…
लागेका सैनिक
सहयोगमा सर्वसाधारण
हातमा हात
मानवता !
…
चुनौती नयाँ
परीक्षा कठिन
प्रतीक्षा उच्चस्तरीय परीक्षाफलको
संकल्प !
…
भत्किन्छन् केही
झन् विशाल बन्नलाई
जुटेर लागौं
आशावादी !
…