मलाई नसोध
जिउनु के हो भनेर
जिन्दगी जिउन छोडेको
धेरै भैसक्यो !
त्यो बेला जिउथे जस्तो लाग्छ
जब आमाको काख मेरो सिरान हुन्थ्यो
अनि म निदाईदिन्थे निस्फिक्री !
जिन्दगी त त्यो बेला जिउथे जस्तो लाग्छ
जब बाको चोरी औंला समातेर
घन्टौ ताते ताते गर्थे !
मलाई नसोध
मुस्कुराउनु के हो भनेर
जिन्दगीमा मुस्कुराउन छोडेको
धेरै भैसक्यो !
त्यो बेला मुस्कुराउथे जस्तो लाग्छ
जब आमाले मलाई बोकेकी हुन्थिन्,
मेरो अनुहार पछाडी फर्किने गरी
ठीक त्यसैबेला कोही अन्जानले आफ्नो अनुहार बिगारेर मलाई जिस्काउथे !
जिन्दगीमा त्यो बेला मुस्कुराएं जस्तो लाग्छ
जब मैले बाको हात समाएको हुन्थे
तर बालाई मेरो गतिमा हिडाएको हुन्थे
ठीक त्यसैबेला कोहि अरु आउथे अनि मेरो अर्को हात समाएर संगै डोर्याउथे !
मलाई नसोध
रुनु के हो भनेर
जिन्दगीमा साँचो रुवाइ नरोको पनि
धेरै भैसक्यो !
ठीक संग रोको पनि त्यो बेला जस्तो लाग्छ
जब छिमेकी आन्टीले भन्थिन्
तलाईं त धानवारीमा भेट्टाएको हो
अनि ममीलाई देखाउदै भन्थिन्
तेरी आमा अर्कै छिन्, यिनी हैनन् !
जिन्दगीमा वास्तविक रुवाइ त त्यो बेला रोए जस्तो लाग्छ
जब बाबाको अफिस जाँदा
एउटा सोफामा मस्त निदाएको हुन्थे
र बाबा खाजा खान गएको बेला अरुले उठाएर भनिदिन्थे
तलाईं छोडेर तेरो बा गए, घरतिर !
अचेल त म बाच्छु जस्तो मात्र लाग्छ !
जिउन त धेरै अगाडी भुलिसकेछु !
आमाको काखमा सुत्न, मैले बिरामी हुनुपर्छ !
त्यसै सुत्दा लाडे पल्टेको हुन्छ !
आमाको काखमा सुत्ने कारण छैनन् !
लाग्छ सबैभन्दा प्यारो चिज गुमाइसकें – सानैमा !
अचेल त म बाच्छु जस्तो मात्र लाग्छ
बाको चोरी औंला समाउने कारण छैनन्
बाको चोरी औंला अहिले समाउन पाएँ
संसार आफ्नो मुठ्ठीमा पाएको आभास हुन्थ्यो होला !
लाग्छ सबैभन्दा ठूलो संसार गुमाइसकें – सानैमा !
अचेल त म हास्छु जस्तो मात्र लाग्छ !
मुस्कुराउन त मैले धेरै अगाडी भुलिसकेछु !
आमाले बोक्न सक्दिनन् मलाई
अनि म मुस्कुराउन सक्दिन !
मलाई लाग्छ म हस्छु अचेल, पीडा लुकाउनलाई
दार्ही पालेर डन्डीफोर लुकाए जस्तो !
बाले डोर्याउन्नन् अचेल,
चोरी औंला समात्न लगाएर !
अनि म मुस्कुराउन सक्दिन !
बाले डोर्याउन चाहे पनि, डोरिन्न होला म !
खैर !
एकचोटी पुन: मुस्कुराउन मन छ !
सायद मुस्कुराउछु होला
जब बुझ्छु:
आमाले बोक्ने चाह हुँदाहुँदै पनि किन भुइँमा हिड्न छोडिन् भनेर !
बाले डोर्याउन चाहेर पनि किन उनको औंला समाएको मुठ्ठी फुकाइदिए भनेर !
अचेल त आँसु मात्र झर्छ
साचो तरिकाले रुन त मैले धेरै अगाडी भुलिसकेछु !
फेरी त्यो बेला रुन्छु होला
जब अरु कोहि कि श्रीमतीले मेरी श्रीमतीलाइ देखाउदै मेरा सन्तानलाई भन्नेछिन्
तलाईं त धानवारीमा भेट्टाएको हो
यिनी तेरी आमा हैनन् भनेर !
फेरी त्यो बेला रुन्छु होला
जब म खाजा खान गएको बेला
मेरा मित्रहरुले मेरा निदाइरहेका सन्तानलाई उठाएर भन्नेछन्
तेरा बाले तलाई छोडेर गइसके, घरतिर !