हे इश्वर सुन्यौ के तिमीले ?
कोही रोए जस्तो
कोही कराए जस्तो !
एउटा कहाली लाग्दो रातमा
कोही डराए जस्तो ?
मलाइ जामैजाम सडकको बीचमा
कराइरहेको एम्बुलेन्स
त्यहाँ भित्र बसेर मृत्यु संग लड्दै गरेको
बिरामीको चित्कार जस्तै लाग्छ !
हे इश्वर, के सुन्यौ तिमीले त्यो ?
आफु एक र आफुमा एक बोकेर
नेपाल यातायातभित्र डन्डी समातेर उभिएकी
नारीको पाउले आफु मात्र उभिनु छैन
बोक्नु छ एक बच्चा र दुइ परिवार !
देखेको छौ इश्वर उनको पाउ लरबराएका ?
के दुर सुदुरका जिल्लाहरु
आफ्नै हैनन् र ?
आमाले कहिले छुट्याउदि होलिन् र
जेठो र कान्छो ?
ठुली र सानी ?
तर फरक, किन यती धेरै ?
सिटामोल र मेट्रोन खान नपाएर
दिवंगत भएकाहरुले सुनाएनन् कि कसो ?
मेरो देशको स्थिति तिमीलाई ?
मेरो देशमा यथास्थितिबादीहरु लड्दै छन् रे
परिवर्तनका लागि
कुनै दिन पश्चिमबाट घाम उदाउनेछे
बिरालोले घाँस चपाउने छ !
अनि पत्ता लाग्नेछ सायद
निर्मलाहरुका हत्यारा
मानवताका बलात्कारीहरु !
के सुनेनौ यी सब तिमीले ?
के देखेनौ यी सब तिमीले ?
तिमीले धेरै पर रहेर पनि सुन्यौ सायद
तिमीले धेरै पर रहेर पनि देख्यौ सायद
यही नजिकैका हजारौ ‘इश्वरहरु’ले सुन्न सकेनन्
यही नजिकैका हजारौ ‘इश्वरहरु’ले हेर्न सकेनन्
चाहेनन् कि सायद !
-अाभास