खलासी

Spread the love

जाने हो ? बानेश्वर, तिनकुने, जडिबुटी, प्लानिंग
यात्रु समेट्ने गरि हात फैलाएर आएको हुन्छ
स्टेसनका मान्छे नचड्ने भएपछी
त्यहि हात ल्याएर टिनमा बजार्छ
दुइ चार चोटी लगातार
सायद, रिस पोखेको होला !

तिनै स्टेसनका मान्छे जाने भएपछी
कति मज्जाले भन्छ
पर्खनुस् दाइ झर्नेछ |
अनि ढाड सुम्सुम्याएझैँ गरी चढाउछ
टिनको बाकसमा र बनाइदिन्छ बन्दक
ऊ खलासी
टिनको बाकसको हकदार !

 

हल्का पछाडी सर्नुस् न !
मिलेर बस्नुस्
यी बाणी हुन् उसले पेट पाल्न बोल्नु पर्ने |
यत्तिकैमा उसले देख्छ
क्रुर अनुहारहरु जो पछाडी सर्न अन्कनाइरहेका हुन्छन् |
अनि भेट्छ पनि
टिनको बाकस सानो भयो भन्नेहरु
ऊ अझै पछाडी धकेल्न खोज्छ मान्छे
डुंगा खियाउदा खिवैयाले पानी पछाडी पन्छाएजस्तो
किनकि जसरी खिवैयालाइ थाह छ
पानी नढकेली डुंगा चल्दैन
त्यसरी नै खलासीलाई थाहा छ
मान्छे नढकेली जीवन चल्दैन |
अनि फेरी कराउछ
दुइ लाइन भएर बस्नुस् है दुइ लाइन भएर |

 

उसको सुसेली सुन्दा लाग्छ, जिस्काईरहेछ
गर्मीलाई अझ गर्मी बनाइदिने ठिटीहरुलाई
तर जब
उसको बाकस कुटाइ सुन्छु, लाग्छ
केहि तुफान आउदै छ,
अनि ऊ गरिरहेछ संकेत
‘भागौ भागौको’
बास्तवमै खेदाइरहेको हुन्छ, सिंहले
जसका लागि पनि शिकार सोहि गन्तब्यमा पुग्ने यात्रुहरु हुन्छन् !
ऊ पनि गरिरहेको हुन्छ चित्कार
बानेस्वर, तिनकुने, जडिबुटी, प्लानिंगको
गाइरहेको हुन्छ गीत
पछाडी सर्नुस् र छिटो ओर्लानुसको
‘बिस्तारै गर्नुस्, स्वर्गमा ठाउँ छैन’
बाकस पछाडी यो टासेर भएपनि पछाडिको सिंहलाई
निरुत्साहित गरिएको हुन्छ,
किनकि उसले बुझेको छ
पानी नढकेली डुंगा चल्दैन
र शत्रु नहराइ जीवन चल्दैन !
ऊ खलासी – एक ‘तुफान’ सूचक !

 

उसले देखेको छ
देब्रे हातमा झोला र दाहिने हातमा आइफोन बोक्नेहरु
उसले भेटेको छ
भुडी फुलाई यात्रु पछाडी जानबाट छेक्नेहरु
अनि चिनेको छ
१७ रुपैयाको सट्टा बस् १५ तिरेर उसको घांटी रेट्नेहरु
उसले जिन्दगी देखेको छ !
राता नीला अनुहार देखेको छ !
तर आफु पहेलिएको छैन, धमिलिएको छैन |
ऊ जे छ खुसि छ !

उसले देखेको छ मान्छेहरुले ढकेली ढकेली जीवन चलाएको
सोच्दो हो, कुनै स्टेसनमा गाडी रोकेको बेला !
उभिएरै भएपनि सुत्केरीले नानि बोकेको बेला !
यत्तिका हतारमा मानिस किन हुन्छन् ?
सम्झिदो हो आफुलाई सिंहले खेदाइरहेको
अनि बुझ्दो हो मान्छेलाई समयले पछ्याइरहेको
र त पिट्दो हो झ्याली र लाउदो हो नारा
जडिबुटी पेप्सी र प्लानिंगको !
अनि हुइकिदो हो त्यहि टिनको बाकसमा
आफ्नै जिन्दगी त्यसै भित्र कैद गराएर
ऊ खलासी
टिनको बाकसको हकदार !

Leave a Comment

Your email address will not be published. Required fields are marked *