दुनिया नतमस्तक छ दुनियाको चाल देखेर
दुनियाको तालको दुनियालाइ पर्बाह छैन
नत्र सुन्थ्यो होला नि गुरुजीले बजाएको हरन
अनि गुरुजीले पढाएको पाठ
दुनिया रमेको छ आफ्नै दुनियामा !
जीवन जिउन नजानेकाहरु कराइरहेका हुन्छन् !
अनि बाटाबाटा चिच्याईरहेका हुन्छन्
फलानोले तिलानो गर्न जानेन भनेर
अनि धिक्कारि रहेको हुन्छ संसारलाई
सोहि बाटो शालीन भएर वाइट क्यानलाइ सहारा बनाएर
दृष्टि बिहिन हिडेको हुन्छ !
क्याफे तिर सुनिन्छ एकहुलबाट
दुध अलि कम र पानी बढी भएको कुरा
चिनी बढी र रंग कम भएको कुरा
सोहि छेउमा अर्को जमात हुन्छ
जो कालो चियामा सेतो चिनी नहाली पीरहेको हुन्छ
र हरेक सुरुपले दिएको हुन्छ उर्जा ओठलाइ !
यस्तो लाग्छ चियाको हरेक सुरुप र वाइट क्यान चल्दाको आवाजले भनिरहेछन्
जिन्दगी रंगिन हुन दुनिया रंगिन हुन पर्दैन !
दुनिया अनभिज्ञ छ दुनियाको हाल देखेर
बाटामा देखिन्छन् काधमा ब्याग र हातमा आमाको औला समाएका हुल
अनि छेउमै देखिन्छन् काधमा बोरा र हातमा दुधको पोका बोकेको अर्को जमात
एउटा जमात भनिरहेछ, म देशको भबिस्य हुँ !
र छेउकै अर्को जमातको प्लास्टिक फुकाई संगै सुन्छु रोइरहेको भविष्य
अनि च्यातिएको बोरोले देखाउदै हुन्छ उसले बहन गर्न नसकेका जिम्मेबारीहरु !
अनि सोच्छु दुनिया बर्तमानमा रमेको छ, भबिस्यलाइ भुलेर !